काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरका ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने लक्ष्यसहित पार्टीले तयारी अघि बढाएको बताएका छन्।

शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई अझ समावेशी, समतामूलक र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले स्थानीय तहमा सक्षम नेतृत्व निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उम्मेदवार छनोटसँगै उनीहरूलाई प्रभावकारी शासन सञ्चालनका लागि आवश्यक प्रशिक्षणसमेत प्रदान गरिने जानकारी दिए।

थापाका अनुसार मेयर, उपमेयर तथा वडा अध्यक्षका आकांक्षीहरूलाई सार्वजनिक नीति, सार्वजनिक वित्त, कानुनी व्यवस्था तथा सीमित स्रोत–साधनको प्रभावकारी परिचालनजस्ता विषयमा विशेष प्रशिक्षण दिइनेछ, ताकि निर्वाचित भएपछि उनीहरूले प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न सकून्।

‘असल नियत मात्रै पर्याप्त हुँदैन। जनप्रतिनिधिसँग कानुन, नीति निर्माण, वित्तीय व्यवस्थापन र स्थानीय शासन सञ्चालनबारे आवश्यक ज्ञान र क्षमता पनि हुनुपर्छ,’ थापाले भने।

उनले आदिवासी जनजाति महासंघका नेतृत्वलाई स्थानीय र प्रदेश तहमा नेतृत्व गर्न सक्षम तथा योग्य व्यक्तिहरूको पहिचान गरी पार्टीलाई सिफारिस गर्न आग्रह गर्दै त्यस्ता व्यक्तिहरूलाई आगामी निर्वाचनमा प्राथमिकताका साथ अवसर दिइने बताए।

थापाले संगठनबाट सिफारिस भएका योग्य र सक्षम व्यक्तित्वहरूको मूल्यांकनका आधारमा आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार चयन गरिने स्पष्ट पारे।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com