काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा कुनै प्रकारको धरपकड वा हस्तक्षेप भए कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाबारे जानकारी दिँदै उनले देउवा साउन २६ गते नेपाल फर्किने र साउन २९ देखि ३१ गतेसम्म आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुने जानकारी दिए।

सञ्चारकर्मीले देउवालाई सरकारले पक्राउ गर्न सक्ने सम्भावनाबारे सोधेको प्रश्नमा कोइरालाले त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गरे। तर, यदि कुनै धरपकडको प्रयास गरियो भने कांग्रेस चुप लागेर नबस्ने स्पष्ट पारे।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको निर्णयको स्वागत गर्दै उनले यसले न्यायिक प्रक्रियाप्रति पार्टीको विश्वास अझ बलियो बनाएको बताए।

देउवाको तर्फबाट दायर पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि अन्तिम फैसलाबाट कांग्रेसले न्याय पाउने विश्वास थप सुदृढ भएको उनको भनाइ थियो।

कोइरालाले सर्वोच्चको पछिल्लो आदेशले राष्ट्रिय भेलाको उद्देश्य वा कार्यदिशामा कुनै परिवर्तन नल्याउने, बरु नेता–कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपेको बताए।

‘वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा अझ एकताबद्ध बनाउन यो राष्ट्रिय भेला महत्त्वपूर्ण कोसेढुंगा बन्नेछ,’ उनले भने।

उनका अनुसार सुरुमा १० देखि २० हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको भए पनि सर्वोच्चको पछिल्लो आदेशपछि पार्टीपंक्तिमा सकारात्मक वातावरण बनेकाले अपेक्षाभन्दा धेरै सहभागिता हुने विश्वास गरिएको छ।

पत्रकार सम्मेलनमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाको सहभागिताबारे सोधिएको प्रश्नमा उनले खड्का स्वास्थ्य अवस्थाका कारण र शेखर कोइराला विराटनगरमा पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकाले उपस्थित हुन नसक्ने जानकारी दिए। यद्यपि, दुवै नेताले अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता जनाएको उनको दाबी थियो।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com