काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले खाना पकाउने एलपी ग्यासको बजारमा देखिएको असन्तुलन हटाउन सरकार सक्रिय रूपमा लागिपरेको बताएकी छन्। बढ्दो मागलाई व्यवस्थापन गर्दै आपूर्ति सहज बनाउन आवश्यक सबै संयन्त्र परिचालन गरिएको उनको भनाइ छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले ग्यास अभावको हल्ला र भ्रममा नपरी आवश्यकताभन्दा बढी सिलिन्डर खरिद नगर्न सर्वसाधारणलाई आग्रह गरिन्। उनले बजारको अवस्था सामान्य बनाउन मन्त्रालयले अनुगमन र आपूर्ति व्यवस्थापनलाई तीव्र बनाएको जानकारी दिइन्।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष पनि नियमित माग धान्ने परिमाणमा ग्यास आयात भइरहेको छ। तर, पहिले आधा भरिएका सिलिन्डर वितरण हुने प्रचलन अन्त्य गरी पूर्ण भरिएका सिलिन्डर उपलब्ध गराउन थालेपछि बजारमा एकैपटक माग बढेको र त्यसले केही समयका लागि आपूर्ति व्यवस्थापनमा दबाब सिर्जना गरेको हो।

मन्त्री यादवले हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जानकारी दिँदै ती उद्योगको संयुक्त भण्डारण क्षमता १० हजार १६६ मेट्रिकटन रहेको बताइन्। उनका अनुसार बजारमा करिब एक करोड ७५ लाख ग्यास सिलिन्डर प्रचलनमा छन्।

एलपी ग्यासको वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन नेपाल आयल निगममार्फत सिलिन्डर ट्र्याकिङ प्रणाली लागू गर्ने प्राविधिक तयारी सुरु भइसकेको उनले जानकारी दिइन्। संसदीय समितिबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको र बजार अनुगमनलाई थप प्रभावकारी बनाइएको पनि उनले स्पष्ट पारिन्।

भारतबाट तीन महिनाका लागि थप ग्यास कोटा उपलब्ध गराउन कूटनीतिक पहल भइरहेको उल्लेख गर्दै मन्त्री यादवले घरायसी उपभोक्तालाई प्राथमिकता दिँदै बिक्री वितरण व्यवस्थित बनाइने बताइन्। उनले खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क विवरण अभिलेख राख्ने व्यवस्था लागू गरिने तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई ग्यास वितरणमा विशेष प्राथमिकता दिइने जानकारी समेत दिइन्।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com