काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले मध्यरातमा सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै राजनीतिक नेतृत्वको मूल्यांकन भावनात्मक अभिव्यक्तिले नभई काम र परिणामबाट हुने बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’ भन्दै स्टाटस लेखेपछि बस्नेतले त्यसको राजनीतिक अर्थ लगाउँदै टिप्पणी गरेका हुन्।
बस्नेतले शाहमाथि सत्ता त्यागका लागि दबाब बढिरहेको हुनसक्ने र आफ्ना निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने परिस्थिति सिर्जना भएको देखिएको दाबी गरेका छन्।
‘मध्यरातमा आएको बालेनजीको यो स्टाटस पढ्दा लाग्छ, उहाँमाथि सत्ता त्यागका लागि व्यापक दबाब बढ्दै गएको छ र आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिन्छ,’ बस्नेतले भनेका छन्।
उनले राजनीतिक नेतृत्वले जनतालाई आश्वासन मात्र नभई परिणाम दिनुपर्नेमा जोड दिएका छन्। ‘दुःख पायो मंगले, आफ्नै ढङ्गले!’ भन्दै बस्नेतले जनताले अब ‘सही समय आउँछ’ भन्ने आश्वासनभन्दा आफूले भोगिरहेका समस्या समाधान भएको र जीवनमा वास्तविक सुधार आएको देख्न चाहेको बताएका छन्।
बस्नेतले निर्वाचनबाट प्राप्त जनमत र जनताको विश्वासलाई राजनीतिक नेतृत्वले बिर्सन नहुने पनि बताएका छन्। जनताले विश्वास गरेर सत्तामा पुर्याएका कारण जनताका प्रश्न र आलोचनाबाट भाग्न नमिल्ने उनको भनाइ छ।
‘एक्लै लडेको दाबी गर्नुअघि चुनावमा पाएको जनमत र जनताको विश्वास बिर्सन मिल्दैन। जनताले साथ दिएर सत्तामा पुर्याएका हुन् भने जनताको प्रश्न र आलोचनाबाट भाग्न पनि मिल्दैन,’ उनले भनेका छन्।
समयले मात्र परिवर्तन नल्याउने उल्लेख गर्दै बस्नेतले नेतृत्वको वास्तविक मापदण्ड काम, व्यवहार र परिणाम भएको बताएका छन्।
‘समय अवश्य आउँछ, तर समयले मात्र सबै कुरा बदल्दैन। काम, व्यवहार र परिणाम नै असली मापदण्ड हुन्,’ बस्नेतले भनेका छन्।
उनले अन्ततः को सही र को गलत थियो भन्ने फैसला सामाजिक सञ्जालका स्टाटसले नभई इतिहासले गर्ने दाबीसमेत गरेका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार













प्रतिक्रिया