काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली सुधार्न आग्रह गर्दै समयमै सचेत हुन सुझाव दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘सही समय आउन केही समय लाग्ने’ र ‘कहिलेकाहीँ एक्लै लड्नुपर्ने’ आशयको स्टाटस लेखेपछि पोखरेलले त्यसको जवाफ दिँदै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री शाहले आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुनसक्ने उल्लेख गर्दै सही समय आउन केही समय लाग्ने बताएका थिए। उनले नआत्तिन आग्रह गर्दै कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने र यो पहिलो पटक नभएको बताएका थिए।
शाहको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै पोखरेलले प्रधानमन्त्रीले एक्लो भएको चिन्ता गर्नुभन्दा आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्री शाहलाई निर्वाचनका बेला जनतासामु गरेका वाचा र प्रतिबद्धता स्मरण गर्न तथा प्राप्त जनमतको सम्मान गर्न आग्रह गरेका छन्। साथै संसदीय दल र सार्वभौम संसद्प्रति सरकार उत्तरदायी हुनुपर्नेमा उनले जोड दिएका छन्।
पोखरेलका अनुसार आफ्ना कमजोरी स्वीकार गर्दै सुधार गरेर अघि बढे प्रधानमन्त्रीले आफूलाई कहिल्यै एक्लो महसुस गर्नुपर्ने अवस्था आउने छैन।
तर अहिलेको कार्यशैलीमा सुधार नल्याए प्रधानमन्त्री एक्लो मात्र नभई पूर्ण रूपमा असफल हुने दाबी गर्दै उनले समय छँदै गम्भीर भएर सोच्न शाहलाई सचेत गराएका छन्।
उनले प्रधानमन्त्रीलाई जनमत, संसद् र आफ्नै चुनावी प्रतिबद्धताप्रति जवाफदेही भएर सरकार सञ्चालन गर्नसमेत आग्रह गरेका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया