काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध र सुदृढ बनाउन शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण आवश्यक रहेको बताएका छन्।
शनिबार तारकेश्वर नगरस्तरीय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी सचिवालयले एमालेको पुनर्गठन आवश्यक रहेको निष्कर्षसहित त्यसका लागि कार्ययोजना बनाउन कार्यदल गठन गरेको जानकारी दिए।
उनका अनुसार कार्यदलले पार्टी पुनर्गठन तथा सुदृढीकरणका लागि आवश्यक कार्ययोजना तयार गरिरहेको छ। कार्ययोजना तयार भएपछि पार्टीका नेता तथा कार्यकर्तामाझ प्रस्तुत गरिने उनले बताए।
‘पार्टी पुनर्गठनको कार्ययोजना बनाउन कार्यदल बनाइएको छ। अहिले छलफल भइरहेको छ। कार्ययोजना तयार भएपछि तपाईंहरूमाझ आउँछ,’ पोखरेलले भने।
पार्टी सुदृढीकरणसम्बन्धी कार्ययोजना संस्थागत निर्णयका रूपमा आएपछि स्थानीय तहमा त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेता–कार्यकर्ताले आफैं पहलकदमी लिनुपर्ने उनले बताए।
पोखरेलले पार्टीबाट कार्यकर्ता पलायन भएपछि उनीहरूलाई पुनः संगठनमा फर्काउन कठिन हुने भन्दै समयमै संगठनलाई मजबुत बनाउनुपर्नेमा जोड दिए।
उनले वर्तमान राजनीतिक चुनौतीको सामना गर्ने सामर्थ्य एमालेसँग रहेको दाबी गर्दै पार्टीलाई थप सशक्त बनाउन सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
एमालेले पछिल्लो निर्वाचनमा पराजय व्यहोरे पनि जनताको मनोविज्ञान र भावनालाई बुझेर आगामी दिनमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अगाडि बढ्नका लागि हामी संकल्पबद्ध बन्नुपर्छ,’ पोखरेलले भने।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार













प्रतिक्रिया