काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ। यसअघि साउन २६ गते फर्किने भनिएका देउवा अब साउन २८ गते काठमाडौं आइपुग्ने भएका छन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौं अवतरण गर्नेछन्।
कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि देउवा थाई एयरको उडानमार्फत साउन २८ गते दिउँसो काठमाडौं आउने तय भएको जानकारी दिए।
यसअघि महतले देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं फर्किने बताएका थिए। तर रातिको समयमा विमानस्थलमा स्वागत गर्न असहज हुने भएकाले देउवाको फर्किने मिति र समय परिवर्तन गरिएको विश्वकर्माले बताए।
‘फ्लाइट २६ गते रातिको थियो। राति नआउनुस्, हामीले स्वागत गर्न पाउनुपर्यो भन्यौँ,’ उनले भने, ‘त्यसपछि मिति सारियो र समय पनि दिउँसोको तय भयो।’
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि गत फागुन १३ गते राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए।
देउवा स्वदेश फर्किएलगत्तै कांग्रेस संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने तयारी छ। साउन २९ देखि काठमाडौंमा हुने उक्त भेलालाई देउवाले सम्बोधन गर्ने समूहले जनाएको छ।
भेलाको तयारीका लागि संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार













प्रतिक्रिया