काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव कायमै रहेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौंका ग्यास उद्योग तथा डिपोको अनुगमन गरेकी छन्।
मन्त्री यादवले शनिबार बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ तथा बिक्री–वितरणको अवस्थाबारे जानकारी लिइन्। त्यसपछि उनले नेपाल आयल निगमको टेकुस्थित डिपोको समेत निरीक्षण गरिन्।
अनुगमनका क्रममा मन्त्री यादवले विद्यार्थी, मजदुर तथा समस्यामा परेका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन निर्देशन दिइन्।
ग्यास अभावपछि निगमको निर्देशनमा साउन १६ गतेदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट प्रत्यक्ष बिक्री सुरु गरेका छन्।
उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले ‘क्विक रेस्पोन्स टिम’ समेत परिचालन गरेको छ। निगमका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको छ।
निगमका एलपी ग्यास विभाग निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित रहेको दाबी गर्दै आगामी दिनमा आयात परिमाण थप बढाउने तयारी भइरहेको जानकारी दिए।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार













प्रतिक्रिया