काठमाडौं । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा डेरा गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
प्रहरीका अनुसार त्वयनाले उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा एलपी ग्यास बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार प्रहरीले उनको डेरामा चेकजाँच तथा अनुगमन गर्दा तीन थान ग्यास सिलिन्डरसमेत बरामद गरेको छ।
ग्यास कालोबजारीसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया