काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै चौधरीले आफूहरूलाई आन्दोलनका कारण प्रवासमा जान बाध्य पारेर संविधान जारी गरिएको र त्यसमा आफ्नो समुदायका अधिकार समेटिन नसकेको दाबी गरे।
उनले पहिचानको माग गर्ने समुदायमाथि राज्यले दमन गरेको आरोप लगाउँदै लामो संघर्षपछि पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए।
चौधरीले अधिकार प्राप्तिका लागि विभिन्न समुदाय र पहिचानबीच एकता आवश्यक रहेकोमा जोड दिए। आफूहरूबीचकै असमञ्जस्यताका कारण उपलब्धि हासिल गर्न कठिन भएको हुनसक्ने भन्दै उनले त्यसको समीक्षा गर्नुपर्ने बताए।
अग्रगामी मोर्चाको एकता अधिकार प्राप्तिको अभियानका लागि आवश्यक रहेको उल्लेख गर्दै चौधरीले संविधान कार्यान्वयन भए पनि सीमान्तकृत समुदायका अधिकार अझै पूर्ण रूपमा सुनिश्चित हुन नसकेको दाबी गरे।
उनका अनुसार मोर्चाले आगामी दिनमा अघि सार्ने कार्ययोजनाले यसको उद्देश्य र संघर्षको दिशा थप स्पष्ट पार्नेछ।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया