कर्णाली । कालिकोटको पलाँता अस्पतालमा चिकित्सक, नर्स तथा कर्मचारीमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९, थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए।
प्रहरीका अनुसार शुक्रबार दिउँसो सुशील र मैना बमले अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए।
त्यसपछि राति तपेन्द्र बम अस्पतालमा प्रवेश गरी अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि कुटपिट गर्नुका साथै अस्पतालका विभिन्न संरचना तथा उपकरणमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, झ्याल, फार्मेसीमा औषधि राखिएका दराज तथा र्याकलगायतमा क्षति पुगेको जनाइएको छ।
अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको विषयमा विवाद सुरु भएपछि चिकित्सक र नर्समाथि कुटपिट भएको प्रहरीको प्रारम्भिक भनाइ छ। सोही घटनालाई लिएर राति पुनः अस्पतालमा प्रवेश गरी कर्मचारीमाथि आक्रमणको प्रयास र तोडफोड गरिएको जनाइएको छ।
घटनामा संलग्न तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डीएसपी खत्रीले बताए।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया