बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री बिपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा सीमित राजनीतिक शक्तिको प्रयासबाट सम्भव नहुने भन्दै सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
शनिबार रुपन्देहीको भैरहवामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै आचार्यले देश निर्माणका लागि जनप्रतिनिधिदेखि आम नागरिकसम्म सबैको साथ आवश्यक पर्ने बताए।
‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन,’ उनले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ।’
स्थानीय तह र प्रदेशको निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको सक्रिय सहयोग आवश्यक रहेको बताए।
महामन्त्री आचार्यले रास्वपाका नेता तथा कार्यकर्तालाई पुराना दल र तिनमा आबद्ध व्यक्तिलाई गाली गरेर नभई आफ्नो काम र व्यवहारबाट जवाफ दिन आग्रह गरे।
रास्वपामा विभिन्न पुराना राजनीतिक दलबाट आएका व्यक्तिहरूको ठूलो संख्या रहेको उल्लेख गर्दै उनले नवप्रवेशीलाई लक्षित गरी चित्त दुख्ने किसिमका टिप्पणी नगर्न पार्टी पंक्तिलाई आग्रह गरे।
‘हामी त्यो सभ्यताको व्यक्ति हौँ, रत्नाकरलाई वाल्मीकि बनाउने त हाम्रो समाज हो नि,’ उनले भने, ‘पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि रास्वपाका साथीहरूले हेर्नुहोला। सबै जना मिलेर यो देश बनाउने हो।’
आचार्यले पार्टीका सांसद तथा जनप्रतिनिधिको संरक्षण गर्ने मात्रै नभई उनीहरूले गलत काम गरे प्रश्न उठाउने र आवश्यक खबरदारी गर्ने जिम्मेवारी पनि नेता–कार्यकर्ताको रहेको बताए।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया