काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पुन: बस्ने भएको छ।

ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार सुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः तय गरिएको हो।

आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल सुरु भएको थियो । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। त्यसैगरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषयलाई छलफलका लागि अघि सारिएको छ। प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकका एजेन्डामा रहेका छन्।

पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल सुरु भएको छ। सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसको भूमिकाका विषयमा पनि छलफल हुन ।

त्यसैगरी प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com