काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले मातृभाषा, पहिचान र भाषिक अधिकारको संरक्षण तथा प्रवर्द्धनका विषयमा राज्य थप संवेदनशील बन्नुपर्ने बताएका छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघले सोमबार आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै सांसद राईले मातृभाषा र पहिचान कुनै व्यक्ति वा परिवारसँग मात्र सीमित विषय नभई राष्ट्रकै पहिचानसँग जोडिएको विषय भएको बताए।

मानिस जन्मँदै कुनै निश्चित भाषा वा पहिचान रोजेर नआउने उल्लेख गर्दै उनले जन्मस्थान, प्रकृति, संस्कृति, संस्कार र सामाजिक विविधतासँगै व्यक्तिको भाषा र पहिचान विकसित हुने बताए।

‘हामी जन्मँदै यही भाषा अंगीकार गर्छु भनेर सोचेर जन्मेको हुँदैनौँ। प्रकृतिले हामीलाई त्यहाँ जन्माएको हुन्छ, जहाँ पहिचान र विविधतासँगै जोडिएर आएको हुन्छ। संस्कारसँग जोडिएर आएको हुन्छ,’ उनले भने।

राईले मातृभाषाको संरक्षण र प्रवर्द्धनलाई व्यक्तिगत तथा पारिवारिक जिम्मेवारीका रूपमा मात्र बुझ्न नहुने बताए। मातृभाषा संरक्षण राष्ट्रकै सरोकार भएकाले राज्यले त्यसअनुसार नीति, बजेट र कार्यक्रम बनाउनुपर्ने उनको भनाइ थियो।

पछिल्लो समय राज्य मातृभाषा तथा आदिवासी जनजातिका सवालमा अपेक्षाकृत संवेदनशील हुन नसकेको भन्दै उनले सरकारी बजेट तथा कार्यक्रमले नै त्यसको अवस्था देखाउने दाबी गरे।

‘आदिवासी जनजातिका सन्दर्भमा बजेट भाषणबाटै स्पष्ट हुन्छ। थारू आयोग वा दलित आयोगमा छुट्याइएको बजेटबाटै पनि प्रस्ट हुन्छ, राज्य त्यति संवेदनशील छैन,’ उनले भने।

उनले समुदायका आवाजलाई संसद्मा मात्र सीमित नराखी मातृभाषा, पहिचान र भाषिक अधिकारका पक्षमा सामूहिक रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए।

यसैगरी, सांसद क्षितिज थेबेले मातृभाषाको संरक्षण, प्रवर्द्धन तथा भाषिक अधिकारका लागि उठाइएका आवाजलाई संसद्मार्फत प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए।

उनले मातृभाषासम्बन्धी सवाललाई आवश्यक कानुनी तथा नीतिगत व्यवस्थामार्फत सम्बोधन गर्न संसद्मा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com