काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका औपचारिक तथा मूल दस्तावेज नेपाल सरकारसँग सुरक्षित छन् कि छैनन् भन्ने विषयमा यकिन जानकारी नरहेको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद निष्कल राईले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले ऐतिहासिक महत्त्वका ती सन्धिका आधिकारिक दस्तावेजबारे सरकारसँग समेत स्पष्ट अभिलेख नरहेको जानकारी दिएका हुन्।

सांसद राईले सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको मूल प्रति सरकारसँग सुरक्षित छ कि छैन भन्ने प्रश्न गरेका थिए।

जवाफमा मन्त्री खनालले नेपालसँग दुवै सन्धिसँग सम्बन्धित केही कागजात भने रहेको बताए। तर ती कागजात नै सन्धिका औपचारिक तथा आधिकारिक मूल प्रति हुन् वा होइनन् भन्ने यकिन नभएको उनको भनाइ छ।

‘मेरो जानकारीमा आएअनुसार हामीसँग १८१६ को सुगौली सन्धि र १९५० सँग सम्बन्धित केही दस्तावेजहरू त छन्, तर ती सन्धिका औपचारिक दस्तावेज हुन् वा होइनन् भन्नेबारे नेपाल सरकारसँग यकिन जानकारी छैन,’ उनले भने।

मन्त्री खनालका अनुसार राष्ट्रिय अभिलेखालयमा समेत ती ऐतिहासिक सन्धिसँग सम्बन्धित केही कागजात सुरक्षित छन्। तर तीमध्ये कुन दस्तावेज सन्धिको आधिकारिक तथा मूल प्रति हो भन्ने विषयमा अहिलेसम्म स्पष्ट निष्कर्षमा पुग्न नसकिएको उनले बताए।

ऐतिहासिक तथा कूटनीतिक महत्त्व बोकेका सन्धिका मूल दस्तावेजकै अवस्थाबारे सरकारसँग स्पष्ट जानकारी नहुनु गम्भीर अभिलेख व्यवस्थापनको विषयका रूपमा समेत उठेको छ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com