श्रमजीवी पत्रकार मारमा:

‘उकालो’को गेटमा कालो ब्यानर : पारिश्रमिक नपाउँदा श्रमजीवी पत्रकारहरु आन्दोलित

संचार संस्थाको मुख्य आयस्रोत विज्ञापन भएपनि विज्ञापन नछाप्ने नीति लिएको उकालो अनलाइनमाथि क्राउड फण्डिङको नाममा व्यवसायीहरुलाई दबाब सिर्जना गर्ने तथा ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ।



काठमाडौं । ‘उकालो’ मिडिया हाउसमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरू लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिने भएका छन्।

समयमै पारिश्रमिक भुक्तानी, श्रमको सम्मान तथा पत्रकारको पेशागत अधिकार सुनिश्चित गर्न माग गर्दै उनीहरूले आज (मंगलबार) देखि हाँडीगाउँस्थित उकालोको कार्यालय गेटमा कालो ब्यानर टाँगेर आन्दोलन सुरु गर्न लागेका हुन्।

संचार संस्थाको मुख्य आयस्रोत विज्ञापन भएपनि विज्ञापन नछाप्ने नीति लिएको उकालो अनलाइनमाथि क्राउड फण्डिङको नाममा विगतदेखि नै समाचार र पत्रकारिताको आवरणमा व्यवसायीहरुलाई दबाब सिर्जना गर्ने तथा ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोपसमेत लाग्दै आएको भन्दै आलोचना हुने गरेको छ।

यस अनलाइन मिडियामा बुद्ध एयरका मालिक समेत रहेका बिबादास्पद व्यापारी विरेन्द्र बहादुर बस्नेतको सहयोग रहेको र बस्नेतले आफ्ना प्रतिस्पर्धी कम्पनी तथा व्यक्तिहरुको विरुद्ध समाचार प्रकाशन गर्न लगाउने गरेको समेत आरोप लाग्दै आएको थियो।

अरुलाई प्रश्न गर्ने ‘उकालो’माथि आफ्नै श्रमजीवीको प्रश्न

उकालो अनलाइनले आफूलाई खोजमूलक तथा सार्वजनिक सरोकारका विषयमा केन्द्रित सञ्चारमाध्यमका रूपमा प्रस्तुत गर्दै आएको छ। तर, आफ्नै संस्थामा काम गर्ने पत्रकार तथा कर्मचारीले लामो समयसम्म पारिश्रमिक नपाएको भन्दै सार्वजनिक रूपमा आन्दोलन घोषणा गरेपछि पत्रकार तथा कर्मचारीको श्रम शोषण, संस्थाको आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहितामाथि प्रश्न उठेको छ।

पत्रकारिता सार्वजनिक जवाफदेहिताको महत्वपूर्ण माध्यम हो। सञ्चारमाध्यमले अरू संस्थाको पारदर्शिता, सुशासन र श्रम अधिकारमाथि प्रश्न उठाउनु स्वाभाविक हो। तर, त्यसको विश्वसनीयता कायम राख्न सञ्चारमाध्यम स्वयंले पनि श्रम कानुन, पारिश्रमिक भुक्तानी, कर्मचारीको पेशागत सुरक्षा र संस्थागत पारदर्शिताको मापदण्ड पालना गर्नुपर्ने हुन्छ।

उकालोका श्रमजीवीले उठाएको प्रश्न यही बिन्दुमा आएर गम्भीर छ, अरूलाई जवाफदेही बनाउने भन्ने सञ्चारमाध्यम आफ्नै श्रमजीवीप्रति किन जवाफदेही छैन?

उकालोको गेटमा कालो ब्यानर

आन्दोलनरत पत्रकार तथा कर्मचारीले श्रमको सम्मान, समयमै पारिश्रमिक र पेशागत अधिकारका लागि सुरु हुन लागेको अभियानमा सहभागी हुन सम्पुर्ण श्रमजीवी पत्रकारहरुलाई आह्वान गरेका छन्।

उनीहरुले मंगलबार (आज) दिउँसो ३ बजे हाँडीगाउँस्थित उकालोको कार्यालय गेटमा कालो ब्यानर टाँगेर आन्दोलनको औपचारिक सुरुवात गर्ने श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले जनाएका छन्।

आन्दोलनरत श्रमजीवी पत्रकारहरुले ‘अन्यायविरुद्ध आवाज बुलन्द गरौँ, श्रमजीवी पत्रकारको अधिकारका लागि एकजुट बनौँ’ भन्ने आह्वान गरेका छन्।

श्रमजीवी पत्रकारहरूले यो आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्धको व्यक्तिगत प्रतिशोध नभई श्रमजीवी पत्रकारको अधिकार र सम्मानका लागि सुरु गरिएको न्यायपूर्ण संघर्षका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूले अन्य सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुलाई समेत ऐक्यबद्धताका लागि आह्वान गरेका छन्।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com