काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।
छ दिनसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न ५५ ब्रान्डका सवारी साधन प्रदर्शनमा राखिएका छन्। आयोजकका अनुसार एक्स्पोमा करिब ४० नयाँ मोडेल सार्वजनिक गरिनेछ।
एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई थप मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताइन्।
एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमामा अहिले ३६ कम्पनी आबद्ध भइसकेको जानकारी दिँदै उनले सदस्य कम्पनीको वृद्धि उद्योगप्रतिको साझा उद्देश्य र संस्थाप्रतिको विश्वासको परिणाम भएको बताइन्।
अध्यक्ष वैद्यले मोबिलिटीलाई केवल विलासिताको वस्तु वा सरकारका लागि राजस्व संकलन गर्ने माध्यमका रूपमा मात्र हेर्न नहुनेमा जोड दिइन्। उनका अनुसार यातायात नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी तथा बजारसम्मको पहुँचसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो।
‘यातायात नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी र बजारसँगको पहुँच जोड्ने आधारभूत आवश्यकता हो। त्यसैले हाम्रो मुख्य लक्ष्य मोबिलिटी फर अल अर्थात् सबैका लागि सहज यातायात हुनुपर्छ,’ उनले भनिन्।
नेपाल स्वच्छ र दिगो यातायात प्रणालीतर्फ अघि बढिरहेको उल्लेख गर्दै वैद्यले सरकारको हरित अर्थतन्त्रको लक्ष्यप्रति नाइमाको पूर्ण समर्थन रहेको बताइन्।
विद्युतीय सवारीसाधनसँगै हाइब्रिड तथा अन्य नयाँ प्रविधिका सवारीको वर्गीकरण, कर प्रणाली र परीक्षणसम्बन्धी विषयमा स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ छ। यसका लागि सरकार र निजी क्षेत्रबीच प्राविधिक विषयमा समान बुझाइ र स्पष्टता हुनुपर्ने उनले बताइन्।
निजी क्षेत्रले स्थिर तथा पूर्वानुमानयोग्य नीतिको अपेक्षा गरेको उल्लेख गर्दै उनले पटक–पटक परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले लगानीकर्तामा अन्योल सिर्जना गर्ने बताइन्।
‘सरकारले कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि सरोकारवालासँग अनिवार्य परामर्श गर्नुपर्छ,’ वैद्यले भनिन्।
नेपालमा सवारीसाधन एसेम्बली तथा सहायक उद्योगको विकासका लागि दीर्घकालीन रणनीतिक खाका आवश्यक रहेको उनले बताइन्। त्यसका साथै ब्याट्री रिसाइक्लिङ नीति, इथानोल ब्लेन्डिङको सम्भाव्यता तथा अत्याधुनिक सवारी परीक्षण केन्द्र स्थापनाका लागि सरकारसँग सहकार्य गर्न नाइमा तयार रहेको उनले जानकारी दिइन्।
एक्स्पोमा सवारीसाधनको प्रदर्शनीसँगै ‘मोबिलिटी संवाद’ कार्यक्रमसमेत आयोजना हुनेछ। संवादमा वैदेशिक लगानी, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, ब्याट्री रिसाइक्लिङ, उद्यमशीलतालगायत अटोमोबाइल तथा मोबिलिटी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा विज्ञहरूबीच छलफल हुनेछ।
अध्यक्ष वैद्यले नेपालमा स्वच्छ, सुरक्षित, पहुँचयोग्य र दिगो यातायात प्रणाली विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताउँदै नीतिगत स्थिरता र स्पष्टतालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिन्।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार












प्रतिक्रिया