काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यशैली सुधार गर्दै संसद्प्रति जवाफदेही बन्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्रीको संसद्प्रतिको दूरीप्रति प्रश्न उठाउँदै ‘एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो?’ भनेर सोधे।

प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले देश र जनताको हितका लागि संसद् सरकारको साथमा रहेको उल्लेख गर्दै संसद्लाई उपेक्षा नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले भने, ‘देश र जनताको हितमा सिङ्गो संसद् तपाईंको साथमा छ। तर संसद्प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहितालाई ऐच्छिक नठानी संवैधानिक कर्तव्य पालना गर्नुहोस्।’

केसीले संवैधानिक संस्थाहरू कार्यपालिकाको प्रभावमा पर्दै ‘लाचार छाया’ बन्न थालेको आरोप लगाए। सरकारका केही काम सकारात्मक भए पनि ती काम अघि बढाउने क्रममा हचुवा र विधिविहीन प्रक्रिया देखिएको उनको भनाइ थियो।

लोकतन्त्रमा परिणाम प्राप्त गर्नु मात्र पर्याप्त नहुने भन्दै उनले निर्णय र कार्यान्वयनको प्रक्रिया पनि लोकतान्त्रिक र विधिसम्मत हुनुपर्नेमा जोड दिए।

सरकार गठन भएको १०० दिनमा एक लाख युवालाई स्वदेश फर्काउने प्रतिबद्धता गरिएको स्मरण गर्दै केसीले त्यसको प्रगति के भयो भन्ने प्रश्न गरे।

उनले मुलुकमा देखिएका दैनिक जनजीविकासँग जोडिएका समस्याप्रति समेत सरकारको ध्यानाकर्षण गराए। बिजुलीको समस्या, राहदानी लिन सेवाग्राहीले व्यहोर्नुपरेको लामो लाइन, सुकुम्बासी समस्या र बढ्दो बेरोजगारी तत्काल सम्बोधन गर्नुपर्ने उनको माग थियो।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com