काठमाडौं । सरकारले हालै भएका प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

गृह मन्त्रालयको प्रस्तावमा गरिएको उक्त निर्णयले मृतकका परिवारलाई राहत तथा न्यायको अनुभूति दिलाउने सरकारको विश्वास रहेको उनले बताए।

बैठकले स्वास्थ्य सेवा र वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय सवारीसाधनमा कर छुट दिने निर्णयसमेत गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए।

यस्तै, वैदेशिक रोजगारी क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले बाराका निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय भएको छ।

नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्न अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यसैगरी, सार्वजनिक चासोको विषय बनेको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ। पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गरिने प्रवक्ता पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री बालेन शाहको आगामी विदेश भ्रमण तथा छिमेकी मित्रराष्ट्रका उच्च अधिकारीहरूको नेपाल भ्रमणका सम्बन्धमा सम्बन्धित मन्त्रालयहरूले आवश्यक प्रोटोकलअनुसार तयारी गरिरहेको पनि प्रवक्ता पोखरेलले स्पष्ट पारे।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com