काठमाडौं । यातायात व्यवस्था विभागले यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ ‘यातायात व्यवस्था ऐन’ ल्याउने तयारी गरेको छ। विभागका महानिर्देशक राजीव पोखरेलले नयाँ ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिएका छन्।
काठमाडौँमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले संघीयता कार्यान्वयनसँगै यातायात क्षेत्रमा आएको परिवर्तन र नयाँ प्रविधिलाई सम्बोधन गर्न विद्यमान कानुन पर्याप्त नभएकाले नयाँ ऐन आवश्यक परेको बताए।
उनका अनुसार सरकारले हालै ‘राष्ट्रिय यातायात नीति, २०८३’ कार्यान्वयनमा ल्याएको छ। उक्त नीतिले एकीकृत यातायात प्रणाली, सेवाको डिजिटलाइजेसन, डिजिटल मोबिलिटी, सडक सुरक्षा तथा यातायातसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिएको छ।
यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने क्रममा सार्वजनिक तथा निजी सवारीसाधनमा जीपीएस ट्रयाकिङ, सीसीटीभी क्यामेरा र आपत्कालीन घण्टी (इमर्जेन्सी बेल) जस्ता प्रविधि अनिवार्य गर्ने तयारी भइरहेको पोखरेलले बताए।
त्यसैगरी राइड सेयरिङ तथा डिजिटल मोबिलिटीलाई व्यवस्थित गर्ने गरी आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था गरिने उनले जानकारी दिए।
सवारीसाधनको फिटनेस परीक्षण, प्रदूषण परीक्षण तथा स्टिकर वितरणलगायत सेवामा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल लागू गर्ने विभागको तयारी रहेको उनले बताए। यसबाट यातायातसम्बन्धी सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन सकिने विभागको अपेक्षा छ।
पोखरेलका अनुसार पुराना डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय (ईभी) वा हाइड्रोजन सवारीमा रूपान्तरण गर्ने विषयमा समेत आवश्यक मापदण्ड तयार पार्न अध्ययन भइरहेको छ।
‘नयाँ यातायात व्यवस्था ऐनको मस्यौदा तयार भइसकेको छ। नयाँ प्रविधि र संघीय संरचनाअनुसार जीपीएस, सीसीटीभी, इमर्जेन्सी सिस्टम, राइड सेयरिङ तथा डिजिटल मोबिलिटीलाई व्यवस्थित गर्ने तयारी भइरहेको छ,’ उनले भने।
सवारीसाधन आयातलाई व्यवस्थित गर्न नयाँ राष्ट्रिय मापदण्ड निर्माणको तयारीसमेत भइरहेको उनले बताए।
पोखरेलले यातायात क्षेत्रलाई वातावरणमैत्री, सुरक्षित र दिगो बनाउने उद्देश्यले प्रविधिको प्रयोग र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिइने बताए। यातायात पूर्वाधार तथा सेवा विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य बढाएर अर्थतन्त्रलाई गतिशील बनाउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया