काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि पाँचबुँदे विशेष निर्देशन जारी गरेका छन्।
गत साउन ९ गते दुई दलबीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा भएको तीनबुँदे सहमति प्रभावकारी रूपमा कार्यान्वयन गर्न शीर्ष नेताद्वयले मंगलबार उक्त निर्देशन जारी गरेका हुन्।
निर्देशनअनुसार प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा दलहरूको रहेको सिट संख्या मुख्य आधार बनाइनेछ। सरकारमा सहभागी दललाई मन्त्रालय बाँडफाँड गर्दा पनि प्रदेशसभामा रहेको सदस्य संख्याको अनुपातलाई आधार मानिनेछ।
मुख्यमन्त्री, सभामुखलगायत महत्वपूर्ण पदलाई समेत समग्र शक्ति सन्तुलनमा समेटेर भागबन्डा मिलाइने व्यवस्था गरिएको छ।
मन्त्रालय बाँडफाँड गर्दा सहभागी दलहरूलाई पालैपालो प्राथमिकता दिने विधि अपनाइनेछ। पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने र त्यसपछि मुख्यमन्त्री हुने दलले दोस्रो मन्त्रालय छनोट गर्ने व्यवस्था गरिएको छ। यही क्रम दोहोर्याउँदै मन्त्रालय बाँडफाँड टुङ्ग्याइनेछ।
एमाले र नेकपा मात्रै मिल्दा सरकार गठनका लागि आवश्यक संख्या नपुग्ने प्रदेशमा तेस्रो दललाई समेत सरकारमा सहभागी गराउन सकिने व्यवस्था गरिएको छ। यस्तो अवस्थामा आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ भने बाँकी मन्त्रालयको हकमा यसअघि तय गरिएका प्रावधानअनुसार निर्णय गरिने निर्देशनमा उल्लेख छ।
प्रदेशमा राजनीतिक स्थिरता कायम गर्दै सङ्घीयता सुदृढीकरण, सुशासन र विकासलाई गति दिन प्रदेश सरकारले न्यूनतम साझा प्रतिबद्धता तयार गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। सरकारको कार्यसम्पादन त्यही साझा प्रतिबद्धताका आधारमा अघि बढाइनेछ।
दुई दलबीचको सहकार्यलाई व्यवस्थित र दीर्घकालीन बनाउने उद्देश्यले जारी गरिएको पाँचबुँदे निर्देशनले प्रदेश तहमा देखिँदै आएको सत्ता समीकरण र मन्त्रालय बाँडफाँडसम्बन्धी अन्योल हटाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया