काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले युवालाई केवल मतदान गर्ने समूहका रूपमा नभई राष्ट्र निर्माणको नेतृत्व गर्न सक्ने निर्णायक शक्तिका रूपमा राज्यले स्थापित गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले युवाको अधिकार, राजनीतिक तथा सामाजिक सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका हुन्।
उनका अनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवा नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत छन्। उनले ठूलो युवा जनसंख्यालाई मुलुकको ‘जनसांख्यिक लाभांश’ का रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै रोजगारी र अवसरको अभावमा दैनिक करिब २ हजार युवा विदेशिन बाध्य हुनु विडम्बनापूर्ण भएको बताए।
भीष्मराज आङदेम्बेले जेनजी आन्दोलनले उठाएका रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणका मागलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए। निर्वाचनमार्फत पनि युवासहितका मतदाताले परिवर्तनको चाहना व्यक्त गरेको उल्लेख गर्दै उनले सरकारले त्यसअनुसार काम गर्न नसकेको आरोप लगाए।
‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?’ उनले प्रश्न गरेका छन्।
निर्वाचनअघि अमेरिका, क्यानडा तथा युरोपका विभिन्न मुलुकमा पुगेर सरकार गठन भएको १०० दिनभित्र विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र ‘स्टिकर टाँस्ने’ घोषणा गरिएको स्मरण गर्दै उनले सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एक जना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर विषय भएको बताए।
सरकारका प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा युवामा पुनः निराशा बढ्न थालेको उनको भनाइ छ। उनले देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलसम्मले आत्मदाह गरेको घटनालाई त्यसको गम्भीर संकेतका रूपमा उल्लेख गरे।
विदेशबाट फर्किएका युवाको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशमै परिचालन गर्न ‘रिटर्नी युवा उद्यमशीलता’ सम्बन्धी ठोस नीति आवश्यक रहेको आङदेम्बेले बताए।
तीनै तहका सरकारले युवाको सहभागिता, नेतृत्व क्षमता र सिर्जनशीलतालाई विकासको केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय युवा दिवसलाई युवाले नेपालमै आफ्नो भविष्य देख्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धताको अवसर बनाउनुपर्ने बताए।
‘अन्तर्राष्ट्रिय युवा दिवस युवाहरूले नेपालमै आफ्नो भविष्य देख्न सक्ने नेपाल निर्माणको प्रतिबद्धता व्यक्त गर्ने दिन बनोस्,’ उनले भने।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया