एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट हुन सक्ने सुरक्षा खतराका कारण गत महिना टर्कीबाट बेलायत जाने क्रममा आफ्नो विमान परिवर्तन गरेको स्वीकार गरेका छन्। नाटो शिखर सम्मेलनमा सहभागी भएर टर्कीबाट फर्किने क्रममा आफूलाई सुरक्षाकर्मीले विमानस्थलको क्याटरिङ ट्रकमार्फत अर्को विमानमा सारिएको उनले बताएका हुन्।
पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफू सवार विमान सम्भावित आक्रमणको निशानामा पर्न सक्ने सुरक्षा निकायको आकलनपछि विमान परिवर्तन गरिएको बताए।
‘यदि कुनै आक्रमण हुन्थ्यो भने त्यही विमानलाई निशाना बनाइन्थ्यो। सुरक्षा निकायहरूले जे भन्छन्, म त्यही गर्छु। मलाई लगातार धम्कीहरू आइरहन्छन्,’ ट्रम्पले भने।
क्यामेरासामु कतारी विमानमा चढे, गोप्य रूपमा सैन्य विमानमा सरे
यसअघि द वासिङ्टन पोस्टले जुलाई ८ मा अंकाराबाट बेलायत प्रस्थान गर्ने क्रममा ट्रम्प बोइङ ७४७–८ विमानमा चढेको देखिए पनि केही समयपछि गोप्य रूपमा अमेरिकी वायुसेनाको सी–३२ए विमानमा सरेको रिपोर्ट सार्वजनिक गरेको थियो।
कतारको शाही परिवारले अमेरिकालाई उपहार दिएको बोइङ ७४७–८ विमानमा ट्रम्प चढेको दृश्य सार्वजनिक भएको थियो। तर, विमानस्थलमा सामान तथा खानपान सामग्री ओसार्ने क्याटरिङ ट्रकको प्रयोग गरी उनलाई अमेरिकी वायुसेनाको भीआईपी सैन्य विमान सी–३२ए सम्म पुर्याइएको रिपोर्टमा उल्लेख थियो।
यस क्रममा सञ्चारमाध्यमका प्रतिनिधि र केही अमेरिकी अधिकारीसमेत ट्रम्प पुरानै एयरफोर्स वानमा रहेको ठानिरहेका थिए।
पत्रकारलाई झ्यालका सेड बन्द गर्न निर्देशन
उडानका क्रममा एयरफोर्स वानमा रहेका पत्रकारहरूलाई विमानका झ्यालका सेड बन्द राख्न भनिएको थियो। सामान्यतया सुरक्षा संवेदनशील क्षेत्रबाट उडान गर्दा यस्तो सावधानी अपनाइने गरिन्छ।
पछि पत्रकारहरूले यसको कारणबारे प्रश्न गर्दा ट्रम्पले आफूहरू सम्भवतः ‘खतरनाक उडान’मा रहेको बताएका थिए।
रिपोर्टअनुसार ट्रम्पलाई बोकेको सी–३२ए विमान बेलायतको आरएएफ मिल्डेनहल एयरबेसमा राति करिब १०ः२० बजे अवतरण गरेको थियो। त्यसको केही मिनेटपछि पत्रकारहरू सवार पुरानो एयरफोर्स वान पनि त्यहाँ पुगेको थियो।
तर ट्रम्प सी–३२एबाट ओर्लिएपछि पुरानो एयरफोर्स वानसम्म कसरी पुगे भन्ने विषय भने स्पष्ट भएको छैन। केही समयपछि उनी पुरानो एयरफोर्स वानबाट बाहिरिँदै गरेको देखिएका थिए।
कतारले दिएको विमानको सुरक्षामाथि प्रश्न
ट्रम्पले प्रयोग गरेको बोइङ ७४७–८ विमान कतारको शाही परिवारले गत वर्ष अमेरिकालाई उपहार दिएको हो। अमेरिकी रक्षा कम्पनी एलथ्री ह्यारिस टेक्नोलोजीजले उक्त विमानलाई राष्ट्रपतिको यात्राका लागि पुनःसंरचना गरेको हो।
ट्रम्पले पहिलोपटक जुलाई १ मा उक्त विमान प्रयोग गरेका थिए। त्यसपछि उनी यही विमानमार्फत टर्कीमा भएको आफ्नो पहिलो विदेशी भ्रमणमा पुगेका थिए।
तर, पुरानो एयरफोर्स वानमा रहेका विशेष सुरक्षा प्रणालीको तुलनामा कतारबाट प्राप्त विमानमा आवश्यक सुरक्षा क्षमता पूर्ण रूपमा उपलब्ध छ कि छैन भन्ने विषयमा प्रश्न उठ्दै आएको छ।
ह्वाइट हाउसको दाबी– राष्ट्रपतिको सुरक्षामा कुनै सम्झौता छैन
विमानको सुरक्षाबारे उठेका प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसले ट्रम्पको सुरक्षाका लागि आवश्यक सबै सुरक्षा प्रोटोकल अपनाइएको दाबी गरेको छ।
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभ चेउङले ट्रम्पलाई लक्षित गर्न चाहने धेरै शत्रु रहेको भन्दै राष्ट्रपतिको सुरक्षाका लागि उपलब्ध सबै उपाय प्रयोग गरिने बताएका छन्।
यसअघि पनि सम्भावित सुरक्षा खतराका कारण अमेरिकी राष्ट्रपतिको वास्तविक यात्रा विवरण गोप्य राख्ने अभ्यास हुँदै आएको छ। सन् २००० मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पाकिस्तान भ्रमणका क्रममा पनि उनको वास्तविक विमान र यात्रा मार्ग गोप्य राखिएको थियो।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया