काठमाडौं । निर्वाचन प्रहरीका लागि पोशाक खरिदमा ६० करोड रुपैयाँ हिनामिना भएको आरोपसहित संघीय संसद्को सार्वजनिक लेखा समितिमा परेको उजुरीबारे प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जवाफ दिएका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो। उजुरीमा करिब ६० करोड रुपैयाँ हिनामिना भएको आरोप लगाइएको थियो।

समितिमा जवाफ दिँदै आईजीपी कार्कीले पोशाक खरिदका लागि तोकिएको रकम सम्बन्धित व्यापारीको खातामा भुक्तानी गरिएको बताए। उनले व्यक्तिगत खातामा रकम पठाइएको विषय पनि खरिद प्रक्रियाअनुसार नै भएको दाबी गरे।

कार्कीले प्रहरी संगठनसँग सम्बन्धित विषयमा विभिन्न प्रकारका बेनामी उजुरी आउने गरेको बताए। एउटै समूहबाट मात्रै ३२ देखि ३४ वटासम्म उजुरी परेको उनको भनाइ थियो।

‘प्रहरी संगठनलाई जोडेर यस्ता विषय आउने गरेका छन्। खरिदको काम अरू कसैले गरिदिए सहज हुन्थ्यो, तर सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी प्रहरीकै हो,’ उनले भने।

उनले प्रहरीका अधिकांश खरिद प्रक्रियामा बेनामी उजुरी पर्ने गरेको उल्लेख गर्दै छुट्टै खरिदसम्बन्धी निकाय भए प्रहरीलाई आफ्नो मुख्य जिम्मेवारीमा केन्द्रित भएर काम गर्न सहज हुने धारणा राखे।

‘खरिद विभाग वा छुट्टै खरिद मन्त्रालय भएको भए हामीलाई आफ्नो काम गर्न अझ सहज हुन्थ्यो,’ कार्कीले भने।

गृहसचिव राजकुमार श्रेष्ठले भने निर्वाचन प्रहरीको पोशाक खरिदका लागि नयाँ मापदण्ड नबनाइएको स्पष्ट पारे।

उनका अनुसार पोशाक खरिदमा प्रयोग भएको मापदण्ड विगतकै निरन्तरता हो। व्यक्तिको खातामा जानुपर्ने रकम सोहीअनुसार भुक्तानी गरिएको र यसपटकको प्रक्रियामा विगतभन्दा फरक अभ्यास नगरिएको उनले बताए।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com