एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँग जारी युद्ध अन्त्य गर्न अमेरिकासमक्ष नयाँ प्रस्तावहरू प्रस्तुत गरिएको बताएका छन्।
मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनले आफ्ना प्रस्ताव अमेरिकी पक्षसमक्ष बुझाइसकेको जानकारी दिएका हुन्।
उनका अनुसार रूससँगको युद्ध अन्त्य गर्न अमेरिकाले युक्रेनको प्रतिरक्षा क्षमता थप सुदृढ बनाउन सहयोग गर्नुपर्नेछ। विशेषगरी हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत पार्न अमेरिकी सहयोग आवश्यक रहेको उनले बताए। साथै, युद्ध अन्त्यका लागि रूसमाथि थप दबाब सिर्जना गर्नुपर्ने युक्रेनको प्रस्ताव रहेको उनको भनाइ छ।
‘हामीले हाम्रा प्रस्तावहरू अमेरिकी पक्षलाई बुझाइसकेका छौँ,’ जेलेन्स्कीले भने।
यसैबीच, अमेरिकी वार्ताकारहरूले युक्रेन र रूसको छुट्टाछुट्टै भ्रमण गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको बताइएको छ। अमेरिकी वार्ताकार स्टिभ विटकफ र जारेड कुशनर पछिल्लो पटक जनवरीमा मस्को पुगेका थिए।
सन् २०२२ मा रूसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेयता युद्ध अन्त्यका लागि विभिन्न चरणमा वार्ताको प्रयास हुँदै आएको छ। तर अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेपछि रूस–युक्रेन शान्ति वार्ता थप सुस्त भएको बताइएको छ।
युक्रेनले लामो समयदेखि तत्काल युद्धविरामको माग गर्दै आएको छ। रूसले पनि द्वन्द्व अन्त्य गर्न आफू तयार रहेको बताउँदै आए पनि शान्ति सम्झौताका लागि उसले केही सर्त अघि सारेको छ।
मस्कोले रूसले दाबी गरेका युक्रेनका चार क्षेत्रमाथिको दाबी त्याग्नुपर्ने तथा द्वन्द्वका मूल कारण सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ।
यसैबीच, जेलेन्स्कीले रूसले आगामी संसदीय निर्वाचनलाई थप सैनिक परिचालनको तयारीका रूपमा प्रयोग गर्न सक्ने आरोप लगाएका छन्।
उनका अनुसार रूसले निर्वाचनपछि आगामी शरद ऋतुमा ठूलो संख्यामा सैनिक परिचालन गर्ने तयारी गरिरहेको छ। यद्यपि, यस दाबीबारे रूसको तत्काल प्रतिक्रिया सार्वजनिक भएको छैन।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया