काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीबाट औपचारिक निमन्त्रणा प्राप्त भएको छ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा आएको जानकारी दिएका हुन्।
उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्।
बैठकमा सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको जानकारी दिए। यद्यपि, सम्मेलनमा प्रधानमन्त्री स्वयं सहभागी हुने वा अन्य कुनै तहबाट प्रतिनिधित्व हुने भन्ने विषय टुंगो लागिनसकेको उनले बताए।
‘निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौँ। कुन तहबाट सहभागिता हुने भन्ने विषयमा जानकारी प्राप्त हुन बाँकी छ,’ ढकालले भने।
कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया