काठमाडौं । स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारी गरिएको छ ।
कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू विमानस्थलमा पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । स्वागतका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी गरिएको छ ।
देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् ।
स्वदेश फर्किएलगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने र साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको विश्वकर्माले बताए ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार












प्रतिक्रिया