काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति जनाएको छ।
सोसाइटीले समाचारमा प्रकाशित विषयप्रति कुनै गुनासो वा आपत्ति भए त्यसको समाधान प्रचलित कानुन र प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको जनाएको हो।
नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण आधारस्तम्भ रहेको सोसाइटीले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।
समाचार प्रकाशनकै विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने वा अनुसन्धानका नाममा त्रसित बनाउने प्रवृत्तिले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने तथा पत्रकारलाई निर्भीक रूपमा समाचार सम्प्रेषण गर्न निरुत्साहित गर्ने सोसाइटीको भनाइ छ।
पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै सोसाइटीका महासचिव बोधराज त्रिपाठीले पत्रकारिता र प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने बताए।
सोसाइटीले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ। प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भए त्यसको निरूपण कानुनी प्रक्रियामार्फत गर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति निरन्तर खबरदारी गरिरहने प्रतिबद्धतासमेत सोसाइटीले जनाएको छ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया