काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार प्रकाशनकै विषयमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
कोइरालाले सामाजिक सञ्जालमार्फत समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रका लागि सकारात्मक संकेत नभएको बताएका हुन्। उनले श्रेष्ठको पक्राउ नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको उल्लेख गरेका छन्।
कोइरालाले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गर्दै लोकतान्त्रिक मूल्य र मान्यताविपरीतका गतिविधि नगर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रहरीले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐनअन्तर्गतको कसुरमा जाहेरी परेको र सोही जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन्।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित समाचार सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा आफ्नो नाम जोडिएको भन्दै एक युवतीले प्रहरीमा जाहेरी दिएपछि सोही आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया