काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

सरकारविरुद्ध समाचार प्रकाशित गरेको वा सरकारलाई असहज हुने समाचार सम्प्रेषण गरेको आधारमा पत्रकारलाई रातारात पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बस्नेतले बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले पत्रकार श्रेष्ठको पत्रकारिताको शैलीप्रति आफू सहमत नरहे पनि उनलाई पक्राउ गर्ने सरकारको निर्णय उचित नभएको स्पष्ट पारे।

‘समाचार सरकारको विरुद्धमा भयो वा सरकारलाई चित्त नबुझ्ने समाचार सम्प्रेषण गरेकै आधारमा गिरफ्तारी गरिनु उचित होइन। रातारात गिरफ्तार गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले गरेको हस्तक्षेप गम्भीर र आपत्तिजनक छ,’ बस्नेतले लेखेका छन्।

लोकतान्त्रिक व्यवस्थामा आलोचनालाई दबाउनेभन्दा तथ्य, तर्क र कानुनी प्रक्रियामार्फत त्यसको जवाफ दिनुपर्ने उनको भनाइ छ।

प्रहरीले श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको विद्युतीय अपराधसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठको पक्राउलाई लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारसम्बन्धी संस्थाहरूले समेत चासो र आपत्ति व्यक्त गर्न थालेका छन्।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com