काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीतिक व्यवस्था र भविष्यको निर्णय गर्ने वास्तविक अधिकार जनतामै रहेको बताएका छन्।

बिहीबार स्वास्थ्योपचारपछि स्वदेश फर्किएका देउवाले चुनदेवीस्थित कांग्रेस संस्थापन इतर पक्षको सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै नेपाली जनता नै देशका वास्तविक मालिक भएको बताएका हुन्।

गणतन्त्र आफूले ल्याएको वा आफ्नो चाहनामा स्थापित भएको नभई संविधानसभाबाट आएको उल्लेख गर्दै देउवाले यसलाई आफ्नो इच्छाअनुसार कायम राख्ने वा हटाउने विषय नभएको स्पष्ट पारे।

‘संविधानसभाले ल्याएको हो गणतन्त्र, मैले ल्याएको हो ? मैले चाहँदा आएको पनि होइन, मैले चाहेर जाँदैन पनि,’ देउवाले भने।

उनले नेपाली जनता नै सर्वोच्च शक्ति भएको उल्लेख गर्दै जनताको चाहना नै मुलुकको राजनीतिक दिशानिर्देश हुने बताए।

‘नेपाली जनता सबैभन्दा ठूलो कुरा हो। नेपाली जनता नेपालको मालिक हो। यो मालिकले जे भन्यो, त्यही हुन्छ,’ देउवाले भने।

देउवाले आफूलाई नेपाली जनता र न्यायपालिकाप्रति पूर्ण विश्वास रहेको पनि बताए। सर्वोच्च अदालतले पञ्चायतकालदेखि नै निष्पक्ष न्याय सम्पादन गर्दै आएको उल्लेख गर्दै उनले अदालतप्रति आफ्नो विश्वास कायम रहेको बताए।

‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो। यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ उनले भने।

आफू आगामी दिनमा पनि लोकतन्त्र र आफ्नो राजनीतिक मान्यताका लागि निरन्तर संघर्ष गरिरहने देउवाले बताए।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com