काठमाडौं । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ ।

देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ । जेनजी आन्दोलन नेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवामाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ । वक्तव्यमा वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी र मेलम्चीलगायत विभिन्न प्रकरणको समेत उल्लेख गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने बताइएको छ ।

‘कानुन सबैका लागि बराबर हो भने देउवालाई विमानस्थलबाटै कानुनबमोजिम नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइनुपर्छ,’ वक्तव्यमा भनिएको छ । जेनजी आन्दोलन नेपालले सरकारले राजनीतिक संरक्षणका नाममा अनुसन्धान प्रभावित गर्न खोजे त्यसको प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ । आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको र हजारौँ युवा घाइते भएको उल्लेख गर्दै वक्तव्यमा पुरानो दण्डहीनता दोहोरिए जनविश्वास थप कमजोर हुने चेतावनी दिइएको छ ।

देउवा नेपाल फर्किने क्रममा रहेको भन्दै जेनजी पक्षले आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आफ्ना समर्थकलाई आह्वान गरेको छ । विमानस्थलमा शान्तिपूर्ण रूपमा उपस्थित भएर सरकारमाथि निष्पक्ष अनुसन्धानका लागि दबाब दिने उनीहरूको भनाइ छ ।

यसैबीच, सरकारले विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको बताइएको छ। जेनजी पक्षले भने आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने दाबी गर्दै राज्यका तर्फबाट कुनै दमन भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com