काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक व्यवस्था सुदृढ गर्दै मुलुकको समुन्नतिको यात्रालाई तीव्रता दिन पार्टीभित्र बलियो एकता आवश्यक रहेको बताएका छन्।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले कांग्रेसको आन्तरिक सुदृढीकरण नै अहिले मुलुकको आवश्यकता भएको बताए।
पार्टीभित्र देखिएका मतभेद र प्रतिकूलताका बाबजुद कांग्रेसलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्नेमा उनले जोड दिए। विशेष महाधिवेशनमार्फत व्यक्त भएको नेता–कार्यकर्ताको भावना र दृढतालाई आधार बनाएर पार्टी अझ सशक्त बन्ने विश्वास उनले व्यक्त गरे।
नेता–कार्यकर्ताबीचको व्यक्तिगत सम्बन्ध र आपसी निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा पार्टी संस्था, विचार र सिद्धान्तप्रतिको निष्ठा महत्वपूर्ण हुने बताए।
‘व्यक्ति र संस्थाप्रतिको निष्ठामध्ये चयन गर्नुपर्दा हामीले पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ। व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु,’ शर्माले भने।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि आफूहरूले यसअघि नै सातबुँदे लिखित प्रस्ताव अघि सारेको पनि उनले जानकारी दिए। उनका अनुसार जेठ १६ गते नेताहरूलाई उक्त प्रस्ताव पठाइएको थियो। आन्तरिक विषय भएकाले त्यसलाई सुरुमा गोप्य राखिएको भए पनि पछि जेठ ३१ गते सार्वजनिक गरिएको उनले बताए।
निर्वाचन आयोगको निर्णयसँग सम्बन्धित सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थितिलाई कसैको जित वा हारका रूपमा व्याख्या गर्न नहुने शर्माको भनाइ छ। गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेको प्रसंग उल्लेख गर्दै उनले अब पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले मुलुकको सबल राष्ट्रिय शक्तिका रूपमा भूमिका निर्वाह गर्नेमा आफू पूर्ण विश्वस्त रहेको शर्माले बताए।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया