काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने विषयमा सरकारले गम्भीरतापूर्वक छलफल अघि बढाइरहेको बताएका छन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै सभामुख अर्यालले दुवै विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन हुने वातावरण छिट्टै बन्ने विश्वास व्यक्त गरे।

‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनिभूत छलफल भइरहेको छ। मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रूपमा सञ्चालन हुनेछ,’ उनले भने।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको उल्लेख गर्दै अर्यालले आवश्यक बहस र छलफल अघि बढिरहेको जानकारी दिए।

पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए। नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेको उनको भनाइ थियो।

सरकार र संसद्मा युवाको उल्लेख्य सहभागिता रहेको बताउँदै सभामुख अर्यालले विकास र समृद्धिको परिणाम देखिन केही समय लाग्ने भएकाले नागरिकलाई धैर्य गर्न आग्रह गरे।

उनले नकारात्मक सन्देश र निराशा फैलाउने प्रवृत्तिले मुलुकलाई असफलतातर्फ धकेल्न सक्ने भन्दै सकारात्मक सोचका साथ अघि बढ्न सबै सरोकारवालालाई आग्रह गरे।

वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक अवसर र स्पष्ट जनादेश पाएको दाबी गर्दै अर्यालले पर्यटनसँगै उद्योग, उत्पादन, आयात–निर्यात तथा सुशासनका क्षेत्रमा समेत सुधार आवश्यक रहेको बताए।

‘अबको सरकार असफल हुने छुट छैन। नेपालको इतिहासमा सम्भवतः पहिलो पटक सरकार र प्रतिनिधिसभाले स्पष्ट जनादेश पाएका छन्। अब नेपाललाई समृद्ध बनाउनैपर्छ,’ उनले भने, ‘पर्यटन मात्र होइन, उद्योग, उत्पादन, आयात–निर्यातलगायत सबै क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्छ।’

भ्रष्टाचार नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै सभामुख अर्यालले भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियानमा सरकार दृढ रहेको बताए। उक्त अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com