काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गृहसचिव तथा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीमाथि सांसदबाट भएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार संसद्को कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आरोप र उजुरीकै आधारमा कसैको चरित्रमाथि प्रश्न उठाउन वा निष्कर्षमा पुग्न नमिल्ने बताए।
‘प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको छ, त्यसप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘त्यसप्रति हामी खुसी छैनौँ। वी आर नट ह्याप्पी। आरोप र उजुरीका भरमा हामी न्यायाधीश बन्न पनि हुँदैन।’
गत बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका पोसाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी उजुरीमाथि छलफल भएको थियो।
छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक कार्कीमाथि तत्काल छानबिन गर्नुपर्ने माग गरेका थिए।
सांसद सुनारले नैतिकता र कानुनी शासनको आधारमा तत्काल पदबाट हटाएर छानबिन गर्नुपर्ने धारणा राखेका थिए।
‘नैतिकता छ भने तपाईंहरूले छोड्नुपर्छ। कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ, आजै, अहिल्यै, राइट नाउ,’ सुनारले भनेका थिए।
उनले तत्कालीन गृहमन्त्री, गृहसचिव र आईजीपीलाई निलम्बन गरी जिम्मेवारीबाट हटाएर अनुसन्धानको दायरामा ल्याउनुपर्ने मागसमेत गरेका थिए।
सार्वजनिक लेखा समितिमा भएको उक्त घटनाप्रति गृहमन्त्री गुरुङले आपत्ति जनाउँदै आरोप प्रमाणित नभएसम्म सम्बन्धित व्यक्तिको प्रतिष्ठामाथि आघात पुग्ने गरी व्यवहार गर्न नहुने धारणा राखेका हुन्।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया