काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र आईजीपी कार्कीबीच साउन २७ गते सार्वजनिक लेखा समितिको बैठकमा भएको सवाल–जवाफप्रति आफ्नो तथा गृह मन्त्रालयको ध्यानाकर्षण भएको गुरुङले बताएका हुन्।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै भने, ‘दिस इज नट राइट, दिस इज नट गुड।’
उजुरी वा आरोपकै आधारमा कसैलाई दोषी ठहर गर्ने वा न्यायाधीशको भूमिका निर्वाह गर्ने काम गर्न नहुने उनको भनाइ थियो।
‘प्रहरी प्रमुखज्यूहरूलाई जसरी समितिमा प्रस्तुत गरियो, त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ। उजुरीको भरमा हामी न्यायाधीश बन्न पाइँदैन,’ गुरुङले भने।
उनले आरोप लाग्दैमा कसैको चरित्र हत्या गर्न नमिल्ने पनि बताए। प्रहरी प्रमुखहरूले गरिरहेको काम आफूले नजिकबाट देखेको उल्लेख गर्दै गुरुङले उनीहरूले दिनरात खटिएर जिम्मेवारी निर्वाह गरिरहेको बताए।
‘आरोप लाग्दैमा चरित्र हत्या गर्न पाइँदैन। आईजी सावहरूले गरेको कामको म प्रत्यक्षदर्शी छु, उहाँहरूले दिनरात काम गर्नुभएको छ,’ उनले भने।
गुरुङले सार्वजनिक लेखा समितिको तुलनामा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आफूलाई बढी मर्यादित र भद्र लागेको टिप्पणीसमेत गरे।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया