काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विद्यमान विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महतले विगतका असमझदारी र विवादलाई बिर्सिएर पार्टी एकताका लागि सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए।
उनले पार्टीभित्रको समस्या समाधानका लागि अधिकारसम्पन्न ‘स्टेरिङ कमिटी’ गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे।
‘समझदारीको बटमलाइन सजिलो थियो। अधिकारसम्पन्न स्टेरिङ कमिटी बनाऔँ,’ उनले भने।
महतले नेपाली कांग्रेससँग अहिले वैधानिक संरचना रहे पनि त्यसमा पार्टीको ‘आत्मा’ नरहेको टिप्पणी गरे। आधिकारिकता मात्र भएर पार्टी बलियो नहुने भन्दै उनले संगठनमा आत्मविश्वास र एकताको भावना पुनःस्थापित गर्नुपर्ने बताए।
‘आधिकारिकता भएको ठाउँमा आत्मा छैन, शरीर मात्रै छ,’ महतले भने, ‘आत्मासहितको नेपाली कांग्रेस आवश्यक छ। त्यसैले अब पार्टीलाई जोड्नैपर्ने अवस्था आएको छ।’
उनले पार्टीको भविष्यका लागि व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर कांग्रेसलाई एकताबद्ध बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।
प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया