काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले खाना पकाउने ग्यास खरिदका लागि समेत नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको भन्दै सरकारको व्यवस्थापनप्रति प्रश्न उठाएका छन्।
नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट बिहीबार खाना पकाउने ग्यास वितरण गरिरहेको छ। ग्यास लिन आउने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको सन्दर्भमा शाहीले सरकारमाथि व्यंग्य गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै शाहीले अत्यावश्यक वस्तु ग्यास खरिद गर्नसमेत परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताए।
‘ग्यास लिन लागेको हो कि नाका पार गर्न लागेको हो?’ भन्दै उनले सरकारको व्यवस्थापन क्षमतामाथि प्रश्न उठाए।
शाहीले सरकारले पाँच महिनामै देशको कायापलट गरोस् भन्ने अपेक्षा आफूहरूले नराखेको बताए। तर नागरिकले दैनिक जीवनमा भोगिरहेका आधारभूत समस्या समाधान गर्न भने सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
उनले ग्यासजस्तो अत्यावश्यक वस्तु सहज रूपमा उपलब्ध गराउनुपर्नेमा उल्टै उपभोक्ताले विभिन्न झन्झट बेहोर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘सरकारले पाँचै महिनामा देशलाई कायापलट गरिदिन्छ भनेर हामीले अपेक्षा गरेका छैनौँ,’ शाहीले भने, ‘तर जनताले दैनिक जीवनमा भोग्नुपर्ने आधारभूत समस्या त समाधान गर्न सक्नुपर्यो नि सरकार !’
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया