काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई) तथा सूचना प्रविधिको सही र सकारात्मक उपयोग गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा महर्षि स्कुलले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रविधिको तीव्र विकाससँगै विश्व परिवर्तन भइरहेको भन्दै त्यसअनुकूल आफूलाई तयार पार्नुपर्नेमा जोड दिए।

उनले बदलिँदो समय र प्रविधिसँग समायोजन हुन सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको बताए। एआई तथा सूचना प्रविधिले सिर्जना गरेका अवसरलाई सदुपयोग गर्दै यसको नकारात्मक प्रभावबाट समेत सचेत रहनुपर्ने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले विशेषगरी १६ देखि २७ वर्ष उमेर समूहका युवामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको उल्लेख गरे। यस्ता समस्या न्यूनीकरणका लागि युवासँग खुला संवाद गर्ने वातावरण निर्माण गर्नुका साथै उनीहरूलाई रचनात्मक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय गराउनुपर्ने उनले बताए।

युवाका समस्या समाधान र उनीहरूको क्षमता विकासका लागि आफू युवा मन्त्री रहँदा पनि युवा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको श्रेष्ठले स्मरण गरे।

उनले बदलिँदो प्रविधि र सामाजिक परिवेशबीच युवालाई सही दिशामा अघि बढाउन परिवार, विद्यालय, सरकार तथा समाज सबैको सहकार्य आवश्यक रहेको बताए।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com