काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र पूर्ण एकता कायम हुनुपर्ने बताएका छन्। उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्दै सर्वोच्च अदालतबाट न्याय पाएपछि कांग्रेस पुनः एकताबद्ध हुने दाबी गरेका छन्।

शनिबार महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले विशेष महाधिवेशनको निर्णयविरुद्ध आफूहरूले कानुनी प्रक्रिया अघि बढाएको बताए।

‘सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ। विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन,’ देउवाले भने, ‘त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौँ। पुनरवलोकन नभएसम्म धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ। अनि पार्टी एकता हुन्छ।’

देउवाले कांग्रेसको वर्तमान विवादको समाधान न्यायिक प्रक्रियाबाट हुने विश्वास व्यक्त गर्दै अदालतको निर्णयलाई पर्खिनुपर्ने धारणा राखे।

अर्को प्रसंगमा देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र पत्रकारिता अपरिहार्य रहेको बताए। सञ्चारमाध्यमले कुनै व्यक्ति वा समूहको पक्षधर नभई निष्पक्ष रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो।

‘स्वतन्त्र पत्रकारिता प्रजातन्त्रका लागि अति आवश्यक कुरा हो। मेरो पक्षमा छ कि मेरो पक्षमा छैन भन्ने कुरा होइन,’ उनले भने।

उनले प्रेसले व्यक्तिपूजालाई प्रश्रय दिन नहुने भन्दै निष्पक्षता र प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए।

‘व्यक्तिपूजा होइन नि। प्रेसले पनि निष्पक्ष रूपमा हेर्ने हो। प्रेस स्वतन्त्रता हरेक लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण हुन्छ,’ देउवाले भने।

पाँच महिनापछि हालै स्वदेश फर्किएका देउवाले आफू सुदूरपश्चिम भ्रमणमा जान इच्छुक रहेको पनि बताए। विशेषगरी आफ्नो गृहजिल्ला डडेलधुरा पुगेर स्थानीय बासिन्दा तथा देवीदेवताका मन्दिरमा दर्शन गर्ने इच्छा रहेको उनले सुनाए।

‘सुदूरपश्चिममा जान मन छ। डडेलधुरा अझ जान मन छ। त्यहाँका दाजुभाइले मलाई सधैँ जिताएका छन्, भेट्ने मन छ। देवीदेवताको दर्शन गर्ने मन छ,’ उनले भने।

सुदूरपश्चिमले आफूलाई निरन्तर माया र समर्थन दिएको स्मरण गर्दै देउवाले प्रदेशका लागि आफूले गर्नुपर्ने सबै काम गर्न नसकेको स्वीकार गरे।

‘मैले सुदूरपश्चिममा जति गर्नुपर्ने हो, त्यति गर्न पाएको छैन। सुदूरपश्चिमले मलाई धेरै दिएको छ,’ उनले भने, ‘डडेलधुरामा पनि मैले केही काम गर्न बाँकी छ। सबैले एयरपोर्ट बनाइदेऊ–बनाइदेऊ भनेका छन्। त्यो काम पनि पूरा गर्छु।’

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com