काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले संस्थापनइतर समूहको राष्ट्रिय भेला नयाँ पार्टी गठन गर्ने उद्देश्यले आयोजना नगरिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित संस्थापनइतर समूहको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी र विचारलाई समयअनुकूल परिमार्जन गर्न यस्ता भेला आवश्यक हुने बताए।
उनले आफू नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको स्पष्ट गर्दै सर्वोच्च अदालतको फैसला आफूहरूको विपक्षमा आए पनि पार्टीभित्रै बसेर छलफल गरी आगामी रणनीति तय गर्ने बताए।
‘मलाई लाग्छ, सर्वोच्चको फैसला हाम्रो विपक्षमा आउने सम्भावना कम छ। आयो भने त्यसपछि छलफल गरेर निर्णय गर्छौँ,’ उनले भने, ‘तर अर्को पार्टी खोल्ने पक्षमा म बिल्कुलै छैन।’
डा. शशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबीसमेत गरे। यद्यपि, परिस्थितिमा परिवर्तन आएमा पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ।
नेता कोइरालाले वर्तमान सरकारको कार्यसम्पादनप्रति पनि असन्तुष्टि जनाएका छन्। संसद्मा बहुमत रहे पनि सरकारले उल्लेखनीय र नयाँ काम गर्न नसकेको उनको टिप्पणी छ।
उनले वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ सरकार’को संज्ञा दिँदै नयाँ नीति तथा कार्यक्रम ल्याएर प्रभावकारी काम गर्न नसकेको आरोप लगाए।
‘उहाँहरूसँग बहुमत त छ, तर ठोस र राम्रो काम गरेको देखिँदैन। नयाँ कुनै नीति पनि ल्याएका छैनन्,’ कोइरालाले भने, ‘यसलाई सामान्य कामचलाउ सरकार भनौँ।’
उनले वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर रहने वा बीचमै मध्यावधि निर्वाचनमा जाने दुवै सम्भावना खुला रहेको बताए। राजनीतिक परिस्थितिमा जे पनि हुन सक्ने भएकाले अहिले नै कुनै निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया