काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।
शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत लामिछानेको शुभकामना सन्देशको जवाफ दिँदै मोदीले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताएका हुन्।
मोदीले दुई देशबीचको सम्बन्धलाई आपसी प्रगति र समृद्धिसँग जोड्दै आगामी दिनमा समेत सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्।
‘न्यानो शुभकामनाका लागि धन्यवाद, रवि लामिछानेजी। पारस्परिक प्रगति र समृद्धिका लागि भारत र नेपालबीचको गहिरो मित्रताको सम्बन्धलाई अझ सुदृढ बनाउन हामी प्रतिबद्ध छौँ,’ मोदीले लेखेका छन्।
यसअघि रास्वपा सभापति लामिछानेले पनि ‘एक्स’मार्फत भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी, भारत सरकार तथा भारतीय जनतालाई शुभकामना दिएका थिए।
लामिछानेले आफ्नो सन्देशमा नेपाल र भारतबीच नजिकका छिमेकीका रूपमा ऐतिहासिक तथा गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय जनताको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया