काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू निर्वाचनबाटै अस्वीकृत भइसकेको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आफ्नै कमजोरीको समीक्षा गर्न आग्रह गरेका छन्।
काठमाडौँमा आयोजित कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले निर्वाचनमा पराजित भएका नेताहरूले अरूमाथि प्रश्न उठाउनु उचित नभएको टिप्पणी गरे। उनले जनमतबाट प्राप्त परिणामलाई स्वीकार गर्दै पार्टीभित्रको विवाद अन्त्य गरेर संगठन सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिए।
खड्काले पूर्वसभापति देउवाको नेतृत्वको बचाउ गर्दै उनले अहिलेसम्म कुनै निर्वाचनमा पराजय व्यहोर्नु नपरेको र जनमतको सम्मान गर्दै आएको दाबी गरे।
उनले कांग्रेसभित्र बढेको आन्तरिक विवाद, गुटगत संघर्ष र निरन्तरको ‘रडाको’ले पार्टीलाई कमजोर बनाएको बताए। यस्ता गतिविधिका कारण कांग्रेस अहिलेको अवस्थामा पुगेको उनको आरोप थियो।
‘जनताले उहाँहरूको पूरा कार्यसमितिलाई नै पराजित गराइदिएका छन्। जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदैछ ?’ खड्काले प्रश्न गर्दै भने, ‘निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ।’
कांग्रेस कमजोर हुँदा त्यसको असर मुलुकमै पर्ने भन्दै उनले नेताहरूलाई व्यक्तिगत तथा गुटगत विवाद त्यागेर पार्टीलाई बलियो बनाउने दिशामा अघि बढ्न आग्रह गरे।
‘कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्ने कुरा जनताले बुझिसकेका छन्। त्यसैले नेताहरू आपसमा बसेर छलफल गरौँ र पार्टीलाई बलियो बनाऔँ,’ उनले भने।
नेता खड्काले वर्तमान सरकार तथा नयाँ पुस्ताको नेतृत्वको मूल्याङ्कन गर्ने पर्याप्त समय बाँकी रहेको बताए। तत्काल नेतृत्वमाथि आरोप–प्रत्यारोप गर्नुभन्दा आगामी पाँच वर्ष संगठन सुदृढीकरण, जनतामा विश्वास जगाउने र पार्टीलाई पुनः बलियो बनाउने काममा केन्द्रित हुनुपर्ने उनको सुझाव छ।
उनले कांग्रेसभित्र भएका कमजोरी र गल्ती स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबै पक्षलाई आग्रह गरे।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया