काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको नेतृत्व र कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै अनुभवहीन र अदूरदर्शी नेतृत्वका कारण मुलुक संकटतर्फ धकेलिएको आरोप लगाएका छन्।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले शासन सञ्चालनका लागि अनुभव, ज्ञान र दक्षता आवश्यक पर्ने बताए। उनले नयाँ राजनीतिक शक्तिका नाममा अनुभव र क्षमता नभएका व्यक्तिलाई राज्य सञ्चालनको जिम्मेवारी दिँदा देशले त्यसको मूल्य चुकाउनुपरेको दाबी गरे।
प्रधानमन्त्री बालेन शाहतर्फ संकेत गर्दै ओलीले सरकार सञ्चालनलाई सीप र अनुभवसँग तुलना गरे। खाना पकाउन नजान्ने व्यक्तिलाई भान्साको जिम्मेवारी दिँदा खाना बिग्रिएजस्तै शासन सञ्चालनको प्रक्रिया र विधि नबुझेका व्यक्तिबाट पनि अपेक्षित परिणाम आउन नसक्ने उनको भनाइ थियो।
उनले भने, ‘शासन चलाउन पनि अनुभव, क्षमता र ज्ञान चाहिन्छ। जानेकाले गर्ने ठाउँमा अनुभवहीन र उरन्ठेउला व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बादीतर्फ जान्छ।’
ओलीले वर्तमान सरकारसँग मुलुक सञ्चालनका लागि आवश्यक दृष्टिकोण र दक्षताको अभाव रहेको आरोप लगाए। अनुभव र सीपबिनाका व्यक्तिले जिम्मेवारी सम्हाल्दा राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति बढेको उनको दाबी थियो।
उनले संविधानको कार्यान्वयन र संरक्षणमा समेत गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभा विघटन गरी असंवैधानिक ढंगले निर्वाचनको प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै ओलीले संविधानलाई पुनः सही बाटोमा फर्काउनुपर्ने बताए।
‘संविधान मिचिएको छ। अब संविधानलाई सही बाटोमा फर्काउनुपर्छ,’ ओलीले भने, ‘प्रतिनिधिसभाको कार्यकाल बाँकी हुँदाहुँदै किन विघटन गरियो? समय हुँदाहुँदै संसद् विघटन गरेर फेरि अर्को संसद् किन आवश्यक पर्यो? यसको जवाफ जनताले खोज्नुपर्छ।’
मुलुकको हित र विकासका लागि सक्षम तथा अनुभवी नेतृत्व आवश्यक रहेको बताउँदै ओलीले पार्टीका नेता–कार्यकर्तालाई संविधानको रक्षा र राष्ट्रिय विकासका विषयमा सचेत रहन निर्देशन दिए।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार













प्रतिक्रिया