काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच सार्वजनिक रूपमै विवाद भएको छ ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित समापन समारोहमा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच निर्णयको मस्यौदामा रहेको धर्मसम्बन्धी शब्दावलीलाई लिएर विवाद भएको हो ।
भेलाबाट पारित निर्णय सार्वजनिक गर्ने तयारी भइरहेका बेला धर्मसम्बन्धी बुँदाको भाषालाई लिएर दुई नेताबीच मतभेद चर्किएको थियो । विवादको केन्द्रमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य रहेको थियो ।
डा. महतले तयार पारेको निर्णयको मस्यौदामा उक्त वाक्य समावेश गरिएको थियो । तर, निधिले त्यसमा असहमति जनाउँदै शब्दावली परिमार्जन गरेर ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान राखेका थिए ।
दुवै नेताबीच कुरा नमिलेपछि कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेकै बेला केही समय भनाभन भएको थियो । विवाद बढ्दै जाँदा मञ्चमै निर्णय लेखिएको कागज एकअर्काबाट खोसाखोस गरेको दृश्यसमेत देखिएको थियो ।
शीर्ष नेताहरूबीच मञ्चमै विवाद र कागज खोसाखोस भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए । देउवाको निर्देशनपछि अन्ततः डा. महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो ।
यसअघि समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु धर्मप्रति आस्थावान रहेको बताएका थिए । आफू सनातन धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्नुपर्ने धारणा उनले राखेका थिए ।
धर्मसम्बन्धी आफ्नो व्यक्तिगत धारणा र राज्यको धार्मिक नीतिबीच फरक रहेको स्पष्ट पार्दै देउवाले धार्मिक स्वतन्त्रताको पक्षमा आफू रहेको बताएका थिए । पछि उनले आफ्नो भनाइबारे थप प्रस्ट्याउँदै धर्मसम्बन्धी विषयमा जनताको निर्णय महत्वपूर्ण हुने बताएका थिए ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार












प्रतिक्रिया