झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडबाट पार्टीको ‘मिसन जागरण अभियान’ शुभारम्भ गरेका छन्। स्थानीय तह र वडा केन्द्रित रूपमा संगठनलाई थप सक्रिय बनाउने उद्देश्यसहित एमालेले तय गरेको अभियानको सुरुवात ओलीले झापाबाट गरेका हुन्।
अभियानमार्फत एमालेले पार्टी सदस्यता नवीकरण, संगठन विस्तार तथा स्थानीय तहसम्म पार्टी गतिविधिलाई प्रभावकारी बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ। आगामी प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै देशभर संगठनलाई थप चलायमान बनाउने रणनीतिअनुसार अभियान सञ्चालन गर्न लागिएको एमालेले जनाएको छ।
अभियान सञ्चालनका लागि एमालेले केन्द्रीय कमिटीका ३०१ सदस्यसहित केन्द्रीय निकायका सदस्य, सल्लाहकार तथा प्रदेश तहका नेता–कार्यकर्तालाई विभिन्न पालिकाको जिम्मेवारी तोकेर केन्द्रीय प्रतिनिधिका रूपमा परिचालन गरेको छ।
यसैक्रममा झापामा पार्टी गतिविधिलाई तीव्रता दिन अध्यक्ष ओली शनिबार इलाम हुँदै झापा पुगेका थिए। झापाबाट अभियानको औपचारिक सुरुवात गर्दै उनले स्थानीय तहसम्म पार्टी संगठनको पहुँच र सक्रियता बढाउने कार्यक्रमलाई अघि बढाएका छन्।
‘मिसन जागरण अभियान’ अन्तर्गत पार्टी सदस्यता नवीकरणलाई व्यवस्थित र प्रभावकारी बनाउने, नयाँ सदस्यलाई संगठनमा आबद्ध गर्ने तथा स्थानीय तह र वडा तहका पार्टी संरचनालाई थप सुदृढ बनाउने एमालेको योजना छ।
अभियानले आगामी निर्वाचनका लागि आवश्यक संगठनात्मक तयारीलाई समेत गति दिने अपेक्षा गरिएको छ। एमालेले अभियानमार्फत केन्द्रदेखि स्थानीय तहसम्म पार्टीको सांगठनिक गतिविधिलाई एकीकृत गर्दै कार्यकर्ता परिचालन र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार













प्रतिक्रिया