काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाहरूको आन्दोलनलाई उपयोग गरेर मुलुकलाई पुरानो अँध्यारो युगतर्फ फर्काउने र त्यसपछि नयाँ द्वन्द्व निम्त्याउने प्रयास हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले यस्तो प्रवृत्तिले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथिसमेत चुनौती खडा गर्न सक्ने बताएका हुन् ।

संविधानसभाबाट जारी भएको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू अहिले एकताबद्ध भएर उभिनुपर्ने बेला आ–आफ्नो बाटो लाग्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ ।

नेपाली कांग्रेसको एउटा पक्षको भेलाबाट पारित सार्वजनिक प्रस्तावतर्फ संकेत गर्दै भट्टराईले विगतका राजनीतिक प्रतिबद्धता र निर्णयबाट पछि हट्ने प्रयास भइरहेको बताएका छन् । उनले यस्तो प्रवृत्तिले मुलुकको राजनीतिक उपलब्धिमाथि नै प्रश्न उठाउन सक्ने संकेत गरेका छन् ।

एक वरिष्ठ नेताले ‘धर्म भाकेको’ प्रसङ्गसमेत उठाउँदै भट्टराईले त्यसलाई अस्वाभाविक घटनाका रूपमा व्याख्या ग रेका छन् । उक्त घटनाले राजनीतिक रूपमा ‘दालमा केही कालो’ रहेको संकेत गरेको उनको दाबी छ ।

भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई नेपालको संविधानका चार प्रमुख आधारस्तम्भका रूपमा व्याख्या गरेका छन् । यीमध्ये कुनै एक आधार कमजोर भए संविधानको समग्र संरचनामै असर पर्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार जेनजीसहित नेपाली युवाले अपेक्षा गरेको सुशासन, समृद्धि र परिवर्तनको सपना संविधानका यिनै आधारस्तम्भमा टेकेर मात्र पूरा गर्न सकिन्छ । पुरानो व्यवस्थातर्फ फर्किएर वा अर्को द्वन्द्व सिर्जना गरेर युवाहरूको आकांक्षा पूरा हुन नसक्ने उनले बताएका छन् ।

जेनजी विद्रोहको पहिलो वार्षिकी नजिकिँदै गर्दा भट्टराईले मुलुकको राजनीतिक घटनाक्रमप्रति सचेत रहन प्रबुद्ध युवाहरूलाई आग्रह गरेका छन् । उनले युवाहरूले आफ्ना आन्दोलन र परिवर्तनका आकांक्षालाई कुनै पनि राजनीतिक स्वार्थमा प्रयोग हुन नदिन सजग हुनुपर्ने संकेत गरेका छन् ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com