काठमाडौं । आफ्ना माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ । संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्ने जनाएको छ ।
सरकारले व्यवसायीका मागप्रति गम्भीरता नदेखाएको भन्दै संघले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङलगायत प्रक्रिया रोक्दै आएको संघले अब सम्पूर्ण काम–कारबाही नै बन्द गर्ने निर्णय गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडान व्यवस्थापनका लागि एक साताअघि नै सम्बन्धित म्यानपावर कम्पनीलाई परिपत्र गरिएको थियो । त्यसअनुसार आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा भएका श्रमिकलाई उडान गराइनेछ । तर, त्यसपछि प्रक्रिया पूरा भइसकेका श्रमिकको समेत उडान नहुने उनले बताए ।
व्यवसायीका मागबारे शुक्रबार श्रम मन्त्रालयको टोलीसँग प्रारम्भिक छलफल भए पनि ठोस सहमति हुन नसकेको संघले जनाएको छ । मन्त्रालयस्तरमा छलफल भए पनि मन्त्रीस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको संघको आरोप छ ।
संघका अनुसार भोलिदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभर रहेका सबै शाखा कार्यालय बन्द हुनेछन् । वैदेशिक रोजगारीका लागि नयाँ विज्ञापन प्रकाशन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारसम्बन्धी सबै सरकारी र प्रशासनिक काम–कारबाहीसमेत रोकिनेछ ।
संघका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिसँग सम्बन्धित नभई समग्र वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म संघर्ष फिर्ता वा स्थगित गरिने छैन ।’
संघले सरकारसँग वार्ता र संवादका लागि ढोका खुला रहेको जनाएको छ । तर, व्यवसायीका माग सम्बोधन गर्ने ठोस निर्णय नभएसम्म काममा नफर्कने अडान संघले लिएको छ ।
संघले आफ्ना सदस्य संस्थालाई निर्णयविपरीत लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्नसमेत निर्देशन दिएको छ । संघको निर्णय अवज्ञा गरी काम सञ्चालन गर्ने संस्थाको अभिलेख राखिने र त्यस्ता संस्थालाई भविष्यमा संघबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गरिने चेतावनी दिइएको छ ।
त्यस्ता संस्थामाथि आगामी समीक्षा भेलाबाट आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत संघले जनाएको छ ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार













प्रतिक्रिया