काठमाडौं । जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कुटपिटबाट गम्भीर घाइते भएका दैलेख नारायण नगरपालिका घर भई जाजरकोट भेरी नगरपालिका-११ जगतिपुरमा औषधी पसल गरी बस्ने ३२ वर्षीय दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएको हो।

गत साउन २५ गते बेलुका अङ्दाजी २१:०० बजे भेरी नगरपालिका-१० नुवागाउँस्थित स्थानमा थापालाई भेरी नगरपालिका-८ बस्ने ३३ वर्षीय बिरेन्द्र खत्रीसहितको समूहले हातमुक्का प्रयोग गरी कुटपिट गरेको थियो। कुटपिटबाट घाइते भएका थापालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम लगिएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज केयर सिटी अस्पताल लगिएकामा उपचारकै क्रममा साउन २८ गते बिहान ०१:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भेरी नगरपालिका-८ का ३३ वर्षीय बिरेन्द्र खत्री, वडा नं. ९ का २१ वर्षीय निरज रोकाय, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाईलाई साउन २९ गते पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूलाई जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा पहिलो पटक १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिए।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com