काठमाडौं । विद्युत्मा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न सरकारलाई दबाब दिने उद्देश्यले उज्यालो नेपाल पार्टीले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आगामी भदौ १ गतेदेखि २४ गतेसम्म देशभर हस्ताक्षर संकलन गरिने पार्टीले जनाएको छ।
‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ भन्ने नाराका साथ सञ्चालन हुने अभियानको औपचारिक उद्घाटन जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भदौ १ गते बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलाबाट गर्ने कार्यक्रम तय गरिएको छ।
उज्यालो नेपाल पार्टीको भ्रातृ संगठन युवा तथा खेलकुद महासङ्घ को संयोजनमा अभियान सञ्चालन हुन लागेको हो। अभियानमार्फत सरकारले विद्युत् महसुलबापत उठाउन बाँकी रहेको अर्बौँ रुपैयाँको बक्यौता तत्काल असुल गर्नुपर्ने तथा सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने गरी विद्युत्मा लगाइएको कर हटाउनुपर्ने माग अघि सारिनेछ।
पछिल्लो समय डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकमसम्बन्धी विवाद चर्किँदै आएका बेला उज्यालो नेपालले सुरु गर्न लागेको हस्ताक्षर अभियानलाई राजनीतिक दबाबका रूपमा हेरिएको छ।
पार्टीका अनुसार अभियानका क्रममा देशभरबाट संकलन गरिएका हस्ताक्षर सरकारलाई बुझाइनेछ। हस्ताक्षरमार्फत जनमत प्रदर्शन गर्दै आफ्ना माग कार्यान्वयनका लागि सरकारमाथि थप दबाब सिर्जना गर्ने पार्टीको योजना छ।
सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्रमुख एजेन्डा बनाएको उज्यालो नेपाल पार्टीले विद्युत् क्षेत्रसँग जोडिएका विषयमा नागरिकको सहभागिता र समर्थन जुटाउन अभियान अघि बढाउन लागेको जनाएको छ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार












प्रतिक्रिया